काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएको भ्रम र झुटा समाचारको सम्बन्धमा साइबर ब्युरोमा उजुरी दिएका छन्।
वाग्लेले उजुरीमा झुटो विवरण तयार गरेर सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिष्ठामा आँच पुर्याउने प्रयास भइरहेको र त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न माग गरेका छन्।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले उपसभापति वाग्लेबाट उजुरी आएको पुष्टि गरे। वाग्लेले उजुरीमा उल्लेख गरेका छन्, सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खलब्ल्याउने व्यक्तिहरू पत्ता लगाई हदैसम्मको कारबाही गरियोस्।
उजुरीमा भनिएको छ कि धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गर्ने सामग्री सामाजिक सञ्जालमा प्रशारण भएको पाइएको छ। वाग्लेले अफवाह फैलाउने व्यक्ति र समूहलाई पत्ता लगाएर अनुसन्धान गरी कारबाही गर्न पनि माग गरेका छन्।
उजुरीमा उल्लेख छ कि, आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र मोहन लामा रूम्बाले प्रेषित गरेका सामग्रीहरूले मेरो प्रतिष्ठामा आँच पुर्याउने खराब नियत राखेको पाएको छु।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया