काठमाडौं । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। यसअघि ६ जनाको मृत्यु भएकोमा उपचारका क्रममा थप दुई घाइतेको ज्यान गएको प्रहरीले जनाएको छ।
बैतडीका प्रहरी प्रमुख डीएसपी दीपककुमार रायका अनुसार दुर्घटनामा परी हाल ४३ जना घाइते भएका छन्। घाइतेमध्ये बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी र सोही ठाउँका ४२ वर्षीय नरेशराज जोशीको मृत्यु भएको हो।
यसअघि मृतकको पहिचान बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्टका रूपमा खुलेको थियो। त्यस्तै बझाङको जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पचौंडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको पुष्टि भएको छ।
अन्य ४३ जना घाइतेलाई उपचारका लागि स्वास्थ्य चौकी कोटीला पठाइएको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्ये केहीलाई थप उपचारका लागि डडेलधुराको उपक्षेत्रीय अस्पताल रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए।
बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढगाउँ मोडबाट सु.प्र. ०२–००१ ख १११९ नम्बरको बस करिब एक सय मिटर तल खसेको थियो। बिहीबार साँझ साढे ७ बजेतिर भएको दुर्घटनाको जानकारी पाउनासाथ पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। बेहुला र बेहुली भने छुट्टाछुट्टै गाडीमा यात्रा गरेकाले उनीहरू सुरक्षित घर पुगेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार












प्रतिक्रिया