काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौँले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ। विशेष गस्तीमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट १८ लाख ५० हजार रुपैयाँसहित उदयपुर घर भएका ४५ वर्षीय प्रबिन किसनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे ४ बजे शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले उनलाई फेला पारेको थियो। उदयपुर स्थायी घर भई हाल काठमाडौँको कोटेश्वर बस्दै आएका किसनलाई जाँच गर्दा उनको साथबाट उक्त नगद बरामद भएको हो।
बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका किसन र बरामद नगद आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार












प्रतिक्रिया