काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेकी छन्। बिहीबार जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा भइरहेको मतपत्र छपाइ कार्यको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन एकै चरणमा सम्पन्न हुने स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनका बेला देशभरको मौसम अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने बताइन्। निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरी वर्तमान सरकार जिम्मेवारीबाट अलग हुनेसमेत उनले स्पष्ट गरिन्।
उनले भनिन्, “ढुक्क र निश्चिन्त हुनुस्। चुनाव एकै दिनमा हुन्छ, दुई चरणमा हुँदैन। तोकिएकै मितिमा हुन्छ। मौसम पनि राम्रो हुने विश्वास छ। सबैले सहज रूपमा मतदान गर्न पाउनेछौँ। निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर हामी घर फर्किन्छौँ।”
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आयोगलाई धन्यवाद पनि दिइन्।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया