काठमाडौ । पुर्चौडीबाट बझाङतर्फ फर्किरहेको जन्ती बोकेको बस दुर्घटनामा बझाङका एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा महादेव माध्यमिक विद्यालय, लिममा कार्यरत शिक्षक विष्णु जोशी रहेका छन्।
बिहीबार बैतडीबाट विवाहको जन्ती लिएर बझाङतर्फ जाँदै गरेको बस पुर्चौडी नगरपालिका–६ बडचौरमा दुर्घटना भएपछि शिक्षक जोशीको ज्यान गएको हो। उनी विद्यालयमा लगनशील र सबैसँग मिलनसार शिक्षकका रूपमा परिचित थिए।
यसअघि सोही दुर्घटनामा दार्चुला, शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीसहित १३ जनाको मृत्यु पुष्टि भइसकेको छ। एउटै दुर्घटनामा शिक्षक, कर्मचारी र सर्वसाधारणको ज्यान गएपछि बझाङ र बैतडी क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ।
शिक्षक जोशीको निधनले महादेव माध्यमिक विद्यालय परिवार, उनका आफन्त र शुभचिन्तकहरूमा मर्माहत भाव उत्पन्न भएको छ। सामाजिक सञ्जालमा उनका विद्यार्थी तथा सहकर्मीहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिरहेका छन्।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार












प्रतिक्रिया