काठमाडौं । पश्चिमी अष्ट्रेलियाको पर्थ निवासी १३ वर्षीय अस्टिन एपल्बीले समुद्रमा फसेका आफ्नी आमा र दुई भाइबहिनीको ज्यान जोगाएका छन्। गत जनवरी ३० मा समुद्रमा आएको बलियो हावा र छालसँग जुध्दै उनले करिब चार घण्टा संघर्ष गरी उद्धार टोलीसम्म खबर पुर्याएका हुन्।
अष्ट्रेलियाको एबीसी न्युजका अनुसार अस्टिन, उनकी आमा जोआन एपल्बी (४७), भाइ बो (१२) र बहिनी ग्रेस (८) क्विन्डालपको किनारमा कायक र प्याडलबोर्डमा खेलिरहेका बेला अचानक आएको तेज हावा र छालले उनीहरूलाई समुद्रतर्फ बगाएको थियो।
हावा झन् बलियो बन्दै गएपछि परिवारले प्याडलसमेत गुमाएको र किनारबाट झन् टाढा पुगेको आमाले बताएकी छन्। परिस्थितिको गम्भीरता बुझ्दै उनले अस्टिनलाई किनारतर्फ जान आग्रह गरेकी थिइन्।
परिवारलाई बचाउने उद्देश्यले अस्टिन एक्लै कायक चलाउँदै किनारतर्फ लागे। तर केही समयमै कायक भाँचिएर पानी भरिन थाल्यो। हातले प्याडल गर्ने प्रयास असफल भएपछि उनले कायक छोडेर पौडी खेल्न थाले। जीवनरक्षक ज्याकेटले अवरोध गरेपछि उनले त्यसलाई फुकाली पौडी जारी राखेका थिए।
करीब दुई घण्टापछि अस्टिन किनारमा पुग्न सफल भए। बीबीसीसँग कुरा गर्दै उनले पौडी खेल्दा प्रार्थना गरेको, भजन गाएको र सकारात्मक रहने प्रयास गरेको बताए। करिब चार किलोमिटर दूरी पार गरेर किनार पुगेपछि उनले आमाको मोबाइल फोन प्रयोग गरी उद्धार टोलीलाई खबर गरेका थिए। अत्यधिक थकानका कारण उनी त्यसपछि ढलेका थिए।
स्थानीय मरीन रेस्क्यु टोलीले राति करिब ८:३० बजे अस्टिनले दिएको विवरणका आधारमा करिब १४ किलोमिटर टाढा समुद्रमा आमा र दुई बच्चालाई प्याडलबोर्डमा अड्किएको अवस्थामा सुरक्षित उद्धार गरेको थियो।
मरीन रेस्क्यु अधिकारी पल ब्रेसल्यान्डले अस्टिनको साहसको प्रशंसा गर्दै भने, “बालकले दिएको कायक र प्याडलबोर्डको विवरण खोजीका लागि अत्यन्त महत्वपूर्ण भयो। उनको पौडी साँच्चिकै अद्भुत थियो।” उनले आमाको साहसको पनि प्रशंसा गर्दै अन्तिम क्षणसम्म बच्चाहरूलाई नछोडेको बताए।
उद्धारपछि परिवारका सबै सदस्यलाई सामान्य चोटपटकको उपचारका लागि अस्पताल लगिएको थियो। मांसपेशी दुखाइका कारण अस्टिन अहिले क्रचको सहायताले विद्यालय गइरहेका छन्। यद्यपि उनले आफूलाई नायक मान्न अस्वीकार गर्दै भने, “मैले गर्नुपर्ने काम मात्र गरेँ।”
स्थानीय प्रहरीले सबैले जीवनरक्षक ज्याकेट लगाएकै कारण ठूलो दुर्घटना टरेको उल्लेख गर्दै अस्टिनको साहस र दृढता प्रशंसनीय रहेको बताएको छ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया