काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि प्रकारको हिंसा र उत्तेजनाको राजनीतिबाट देशलाई जोगाउने जिम्मेवारी कांग्रेसले लिने बताएका छन्।

कांग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले आगजनी र उत्तेजनाको राजनीति जो–कोहीले गर्न सक्ने भए पनि देशलाई सम्हाल्ने शक्ति कांग्रेससँग मात्र रहेको दाबी गरे। उनले भदौ २४ गते जस्तो घटना पुनः हुन नदिने जिम्मा कांग्रेसले लिने स्पष्ट पारे।

advertisement

उनले भने, भदौ २४ गते देश दनदनी बल्यो। अर्को वर्ष देश नजलोस् भन्ने जिम्मा कांग्रेसले लिन्छ। आगो जसले पनि लगाउन सक्छ, निभाउन कांग्रेसले मात्र सक्छ। उत्तेजना जसले पनि फैलाउन सक्छ, सम्हाल्न कांग्रेस नै चाहिन्छ।

कांग्रेसको राजनीतिक चरित्रले नै हिंसा र उत्तेजनाको राजनीतिलाई अस्वीकार गर्ने उल्लेख गर्दै उनले देशलाई स्थायित्व र शान्तितर्फ लैजान सक्ने शक्ति कांग्रेस मात्रै भएको जिकिर गरे।

सभापति थापाले कांग्रेसप्रति आम मतदातामा केही रिस र आवेग रहेको स्वीकार गर्दै त्यसलाई सुन्ने र सम्बोधन गर्ने गरी पार्टी रूपान्तरण भएर अघि बढेको बताए। उनले भ्रष्टाचार अहिले समाजको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै कांग्रेसले देशलाई भ्रष्टाचारको आहालबाट मुक्त गर्न सक्छ भन्ने विश्वास घरघरमा पुर्‍याउन कार्यकर्तालाई आह्वान गरे।

“जसरी कांग्रेसले देशलाई हिंसाको आहालबाट बाहिर निकालेको थियो, त्यसरी नै भ्रष्टाचारको आहालबाट पनि बाहिर निकाल्छ भन्ने विश्वास हामी दिलाउँछौं, उनले भने।

कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जानुपर्नेमा जोड दिँदै उनले विगतमा नेता–कार्यकर्ता कहाँ उभिएका थिए भन्ने कुरा अब अर्थ नलाग्ने बताए। दुःखका बेला कांग्रेसलाई साथ र मत दिएका प्रत्येक व्यक्तिका घरमा पुगेर उनीहरूको गुनासो सुन्न र बदलिएको कांग्रेसले ती समस्या सम्बोधन गर्ने विश्वास दिलाउन कार्यकर्तालाई निर्देशन दिए।

“हिजो मन दुखाएर जानुभएका साथीहरूलाई घर फर्काउनुपर्छ, उनले भने, दुःख गरेका साथीहरूलाई खोजी–खोजी भेट्न जान्छौं, आशीर्वाद लिन्छौं। उहाँहरू कांग्रेस खोज्दै आउने होइनन्, हामी नै उहाँहरूलाई खोज्दै जानुपर्छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com