काठमाडौ । बिहीबार राति बैतडीको पुर्चौँडी नगरपालिका–७ बडगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटना भएको करिब २० घण्टा बितिसक्दा पनि सवारीधनी र यातायात समितिका प्रतिनिधि घटनास्थलमा नपुगेको भन्दै बझाङमा सडक अवरुद्ध गरिएको छ।

वित्थडचिर गाउँपालिकाको देउलेख क्षेत्रमा मृतक तथा घाइतेका आफन्त र परिवारजनले सडक अवरुद्ध गरेका हुन्। उनीहरूले यातायात समिति र सवारीधनीको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै अवरोध जारी राखेका छन्।

advertisement

दुर्घटना बिहीबार साँझ करिब ७ बजे भएको थियो। मृतकका आफन्त वीरबहादुर बोहराले भने, “यति ठूलो दुर्घटना भइसकेको छ, तर अहिलेसम्म न गाडी साहु आएका छन्, न यातायात समितिका प्रतिनिधि नै। अरू बेला समिति सक्रिय देखिन्छ, तर अहिले कसैको अत्तोपत्तो छैन। हिजो रातभर शव कुर्‍यौँ, आज रातभर सडक अवरुद्ध गर्छौँ। समितिका प्रतिनिधि नआएसम्म सडक खोल्दैनौँ।”

पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु हुनुका साथै तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्।

मृतक र घाइतेका आफन्तले यस्तो संवेदनशील अवस्थामा समेत यातायात समिति गम्भीर नबनेको र घटनास्थलमा नपुगेको आरोप लगाउँदै मुख्य सडकको बीच भागमा आगो बालेर अवरोध गरेका छन्।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com