काठमाडौ । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २१ वर्षीय अर्जुनकुमार प्रजापति, वडा नं. ७ की २२ वर्षीया ललितासिंह ठकुरी, कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का १८ वर्षीय रमेश रावल र बर्दियाको ठाकुरबाबा नगरपालिका–७ का २२ वर्षीया अर्जुन बुढा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट एक ग्राम ५६० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ। स्थानीयस्तरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारिएको हो। खानतलासीका क्रममा लागुऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

advertisement

यसैगरी, पक्राउ परेकाहरूको साथबाट नाइट्राजेपामका ३१ ट्याब्लेट पनि बरामद गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैबीच, जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त नौगाड गाउँपालिका–२ का २७ वर्षीय भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौं जिल्लाको वडा क्षेत्रभित्र लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ। उनलाई सुर्खेत ल्याई सम्बन्धित मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com