काठमाडौ । आइसिसी टी–२० विश्वकप क्रिकेट आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको उद्घाटन खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुँदैछ।
शनिबार साँझ नेपाली समयअनुसार सवा ७ बजे आयोजक राष्ट्र भारत र अमेरिका उद्घाटन खेलमा आमनेसामने हुनेछन्। खेलअघि वानखेडे स्टेडियममा भव्य उद्घाटन समारोहको आयोजना गरिनेछ।
नेपाली समयअनुसार साँझ ६:१५ बजे (भारतीय समय ६ बजे) सुरु हुने समारोहमा संगीत तथा नृत्यका विशेष प्रस्तुति रहनेछन्। समारोहका क्रममा विश्वकप ट्रफीलाई विशेष शैलीमा मैदानमा भित्र्याइनेछ। कार्यक्रमको सुरुवात ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ भने एक ‘जेटप्याक’ कलाकारले उड्दै ट्रफी स्टेडियमभित्र ल्याउने आकर्षक दृश्य प्रस्तुत गर्नेछन्।
आईसीसी अध्यक्ष जय शाह र सन् २०२४ मा भारतलाई विश्वकप उपाधि दिलाएका पूर्व कप्तान रोहित शर्माले ट्रफीको स्वागत गर्नेछन्। सहभागी २० देशका बालबालिकासँगै उनीहरूले विश्वकपको औपचारिक उद्घोष गर्नेछन्।
समारोहमा चर्चित गायक बादशाह र कलाकार नोरा फतेहीले गायन तथा नृत्य प्रस्तुत गर्नेछन्। अन्य कलाकारहरूको सहभागितासहित सामूहिक प्रस्तुतिपछि समारोहको समापन गरिनेछ। कार्यक्रमको अन्त्यमा भव्य आतिशबाजी हुनेछ र त्यसपछि साँझ ७:१५ बजे (भारतीय समय ७ बजे) भारत र अमेरिकाबीचको उद्घाटन खेल सुरु हुनेछ।
यस विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ। नेपालसँगै उक्त समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इंग्ल्यान्डसँग खेल्नेछ भने अन्तिम खेल फेब्रुअरी १७ (फागुन ५) मा स्कटल्यान्डसँग हुनेछ। नेपालका समूह चरणका चारै खेल मुम्बईमै आयोजना हुनेछन्। समूहको शीर्ष दुईमा परेमा नेपाल सुपर–८ मा प्रवेश गर्नेछ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार













प्रतिक्रिया