काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका क्रममा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले निर्वाचन सुरक्षासँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो। गृह मन्त्रालयका अनुसार बैठकमा गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तयारीबारे विस्तृत जानकारी लिँदै सम्भावित जोखिमको मूल्यांकन गरी सुरक्षा व्यवस्था अझ सुदृढ बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।
गृहमन्त्री अर्यालले निर्वाचन अवधिभर कुनै पनि किसिमको कमजोरी हुन नदिन उच्च सतर्कतामा रही काम गर्न मन्त्रालय मातहतका सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बैठकले निर्वाचन तयारीका सम्बन्धमा यसअघिका बैठकहरूले गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै निर्वाचन नजिकिँदै जाँदा देखिन सक्ने थप सुरक्षा चुनौतीहरू सामना गर्न आवश्यक रणनीति तय गरेको छ।
त्यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।
बैठकले निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने, निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नपुगेका मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
यसका साथै निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानी कडा बनाउने निर्णयसमेत गरिएको छ।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार













प्रतिक्रिया