काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मोफसलमा फुटबलको फरक क्रेज रहेको बताएका छन्।

चुनावी अभियानको क्रममा कोशी प्रदेश भ्रमणमा रहेका शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
“फुटबलको राष्ट्रिय लिग काठमाडौँमा चलिरहेको छ, तर दर्शकको उपस्थिती २–३ सय मात्र देखिन्छ। यो देख्दा दुख लाग्छ कि नेपालको लोकप्रिय खेलमा दर्शक छैनन्। धेरैलाई लाग्छ, अब नेपालमा फुटबल सकियो। तर मोफसलमा फुटबलको छुट्टै क्रेज छ। मोफसलका गोल्डकप खेलमा हजारौँ दर्शक दैनिक फुटबल हेर्न आउँछन्। फाइनल खेल हेर्ने दर्शकले टिकट पाउने अवस्था हुँदैन।”

advertisement

शाहले थपे–
“काठमाडौँमा हुने लिगमा अधिकांश खेलाडी मोफसलले उत्पादन गर्छन्। तर देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित छ। पछिल्ला वर्षमा केही क्लब मात्र डिभिजन फुटबलमा प्रवेश गरेका छन्। केन्द्रीकृत फुटबल संरचनाले काठमाडौँ बाहिरका क्लबहरूलाई टिक्न गाह्रो बनाएको छ।

अब यस्तो नीति बनोस्, जसले फुटबललाई विकेन्द्रीकरण गरोस् र खेलमा व्यवसायिकता भर्न सकोस्। फुटबल केवल काठमाडौँका केही क्लबमा सीमित नहोस्। फुटबल खेल्न कुनै क्लब वा खेलाडी काठमाडौँ मात्र आउन नपरोस्। काठमाडौँका क्लब र खेलाडीलाई मोफसलका टिमहरूले निम्ता देओस्। पूर्वमा झापाका ११ क्लब मैदान उत्रँदा धनगढीका दर्शकहरूले भरिपूर्ण वातावरण बनोस्। पश्चिमको धनगढी रंगशालामा मच्छिन्द्र, थ्रीस्टार जस्ता क्लबहरूले रङ्गिन बनाओस्। फुटबल नहुँदा कुनै खेलाडी विदेशिन नपरोस्।”

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com