काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई (कृत्रिम बौद्धिकता) प्रयोग गरी तयार गरिएको एक विवादास्पद भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेपछि हटाएका छन्। ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म सोसल मा शुक्रबार सार्वजनिक भएको उक्त भिडिओ करिब १२ घन्टापछि हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एक मिनेट लामो एआईबाट बनाइएको उक्त भिडिओमा ट्रम्पले आफूलाई सिंहको रूपमा चित्रण गरिएको थियो भने डेमोक्र्याट नेताहरूलाई उसका सहयोगी पात्रका रूपमा देखाइएको थियो। भिडिओको अन्त्यतिर अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरको रूपमा देखाइएको दृश्य समावेश गरिएको थियो।
भिडिओ सार्वजनिक भएपछि ट्रम्पमाथि जातीय विभेद र घृणात्मक मानसिकता प्रदर्शन गरेको आरोप लाग्दै चर्को आलोचना सुरु भएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, यही आलोचनापछि उक्त भिडिओ हटाइएको हो।
अमेरिकी इतिहासमा अफ्रिकी मूलका व्यक्तिहरूलाई बाँदर वा वनमान्छेको रूपमा चित्रण गर्दै अमानवीकरण गर्ने प्रयासहरू हुँदै आएको उल्लेख गर्दै आलोचकहरूले ट्रम्पको कदमलाई घृणास्पद बताएका छन्। नागरिक अधिकारसम्बन्धी संस्थाहरूले पनि कडा प्रतिक्रिया दिएका छन्। एनएएसीपीका अध्यक्ष डेरिक जोनसनले उक्त भिडिओलाई “खुला रूपमा जातीय विभेदपूर्ण र घृणास्पद” बताएका छन्।
रिपब्लिकन पार्टीका केही सांसदहरूले समेत ट्रम्पलाई माफी माग्दै पोस्ट हटाउन आग्रह गरेका थिए। उनीहरूले ह्वाइट हाउसमा सम्पर्क गरेर भिडिओबारे गम्भीर चासो व्यक्त गरेका थिए।
ट्रम्पले भने उक्त भिडिओ आफ्नो सचिवालयबाट सार्वजनिक भएको दाबी गर्दै आफूले त्यसको निन्दा गरेको बताएका छन्। ह्वाइट हाउसका एक अधिकारीले कर्मचारीको त्रुटिका कारण भिडिओ पोस्ट भएको र पछि तुरुन्तै हटाइएको जानकारी दिएका छन्। ती कर्मचारीको पहिचान भने सार्वजनिक गरिएको छैन।
यसअघि ह्वाइट हाउसकी प्रवक्ता क्यारोलाइन लेभिटले आलोचनालाई “नक्कली आक्रोश” भन्दै पोस्टको बचाउ गरेकी थिइन्। ट्रम्पले आफूले भिडिओको सुरुको भाग मात्र हेरेको र अन्तिम दृश्य नदेखेको दाबी गरेका छन्। उनले चुनावी धाँधलीसम्बन्धी दाबी गरिएको अंश हेरेपछि सहयोगीहरूलाई पोस्ट गर्न निर्देशन दिएको बताएका छन्।
ओबामा पक्षका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। यसैबीच, ट्रम्पका निकट सहयोगी तथा अश्वेत रिपब्लिकन सिनेटर टिम स्कटले सामाजिक सञ्जाल एक्समा लेख्दै उक्त भिडिओ नक्कली भएको आशा व्यक्त गर्दै यसलाई ह्वाइट हाउसबाट आएको सबैभन्दा जातीय विभेदपूर्ण अभिव्यक्ति भनेका छन्।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार













प्रतिक्रिया