काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नं. २ का उम्मेदवार सगीर आलमसँग सम्बन्धित गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको घटनामा पक्राउ परेका चालकलाई जिल्ला अदालत रौतहटले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका कार चालक शेख मुस्ताकलाई थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो। जिल्ला सरकारी वकिल कार्यालय रौतहटमार्फत उनलाई जिल्ला अदालतमा पेश गरिएको हो। अदालतले घटनाको प्रकृति र अनुसन्धानको अवस्थालाई ध्यानमा राख्दै पाँच दिनको म्याद थपको आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका चालकविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। घटनासम्बन्धी आवश्यक प्रमाण संकलन, बयान र अन्य प्रक्रिया अगाडि बढाइँदै रहेको प्रहरीले जनाएको छ।
घटना ईशनाथ नगरपालिका–३ अन्तर्गतको मठिया टोलमा भएको हो। कारको ठक्करबाट गम्भीर घाइते भएकी चार वर्षीया अल्फा खातुनको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो। बालिकालाई ठक्कर दिएपछि चालकले उनलाई अस्पतालसम्म पुर्याएको तर त्यसपछि फरार भएको बताइएको छ।
प्रहरीका अनुसार परोहा नगरपालिका–३ तेजापाकड, रौतहट निवासी २७ वर्षीय चालक शेख मुस्ताकलाई खोजतलासपछि नियन्त्रणमा लिइएको हो। घटनापछि फरार रहेका उनलाई प्रहरीले विभिन्न स्थानमा खोजी गर्दै अन्ततः पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाका बेला उक्त कारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगीर आलम सवार नरहेको स्पष्ट पारेको छ। सोही कारण उम्मेदवार आलमलाई यस प्रकरणमा संलग्न नमानिएको र उनीमाथि कुनै कानुनी कारबाही अघि नबढाइएको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले स्थानीयस्तरमा शोक र आक्रोशको वातावरण सिर्जना गरेको छ भने प्रहरीले निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार













प्रतिक्रिया