चितवन । जिल्लामा अनुमति लिएर राखिएका हतियारमध्ये हालसम्म ११ थान मात्रै स्थानीय प्रशासनमा बुझाइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अपेक्षित संख्यामा हतियार फिर्ता नभएको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जिल्लामा कुल १४१ जनाले विभिन्न प्रकारका हतियार राख्न अनुमति लिएका छन्। निर्वाचनलाई निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण तथा विश्वसनीय बनाउनका लागि अनुमति प्राप्त हतियार अस्थायी रूपमा बुझाउन भन्दै प्रशासनले गत माघ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो।

advertisement

सूचनामार्फत १५ दिनभित्र हतियार बुझाउन भनिए पनि तोकिएको समयावधि सकिँदासम्म सबै हतियार फिर्ता नभएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार हालसम्म बुझाइएका हतियारको संख्या निकै कम रहेको छ।

“कतिपय हतियार अनुमति लिएर जिल्ला बाहिर राखिएको पनि हुन सक्छ,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “अन्य जिल्लामा बुझाइएका हतियारको विवरण आउने क्रम जारी छ।” उनले बैंकिङ क्षेत्रमा प्रयोग भइरहेका हतियार भने सुरक्षाको प्रयोजनका लागि भएकाले फिर्ता गर्न नपर्ने स्पष्ट पारे।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रयोग गरिने हतियारबाहेक अन्य व्यक्तिले अनुमति लिएर राखेका हतियार निर्वाचन अवधिभर प्रशासनमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन सम्पन्न भएपछि ती हतियार पुनः फिर्ता लिन सकिने प्रावधान रहेको उनले बताए।

निर्वाचनको समयमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि रोक्न र शान्ति सुरक्षा कायम गर्न प्रशासनले हतियार व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने जनाएको छ। जिल्लामा बाँकी रहेका अनुमति प्राप्त हतियार छिट्टै बुझाइ हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com