काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार सुधन गुरुङ देशप्रेमी व्यक्ति भएको बताएका छन्। गोरखाका मतदातालाई सम्बोधन गर्दै उनले गुरुङप्रति शंका गर्नुपर्ने कुनै आधार नभएको स्पष्ट पारे।
लामिछानेका अनुसार सुधन गुरुङका केही शैली र अभिव्यक्तिमा प्रश्न उठ्न सक्ने भए पनि उनको नियत र भावना देशप्रतिको माया र जिम्मेवारीबाट निर्देशित छ। “सुधन गुरुङको स्वभावभित्र एउटा अबोधपन छ, जिज्ञासा छ। राजनीतिक परिपक्वताबारे तपाईंहरूलाई प्रश्न लाग्न सक्छ, उनका केही भनाइमा आलोचना गर्न सकिने ठाउँ पनि देखिन सक्छ, उनले भने, तर उनी यो देशलाई माया गर्ने छोरा हुन्, यसमा मलाई कुनै शंका छैन।
सभापति लामिछानेले व्यक्ति भएकाले कमजोरी हुनु स्वाभाविक रहेको र ती कमजोरीहरू समयक्रममा सुधार हुँदै जाने पनि बताए।
उनले थपे, “रास्वपाभित्र रहेका हामी सबैले सुधन गुरुङलाई सँगै लिएर अघि बढ्छौँ। जेनजी आन्दोलनमा घाइते भएका युवाहरू, तिनका परिवार र सहिद परिवारहरूको पक्षमा निरन्तर लड्ने योद्धा हुन् सुधन गुरुङ। त्यसैले उहाँलाई विजयी बनाएर संघीय संसदमा एक सशक्त आवाजका रूपमा पठाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार












प्रतिक्रिया