दैलेख । दैलेखमा बँदेलको आक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको छ भने पछिल्ला घटनाहरूमा तीन जना घाइते भएका छन्। बँदेल आतङ्कका कारण जिल्लाका विभिन्न स्थानका स्थानीयहरू त्रसित बनेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार भैरवी गाउँपालिका–५ बैटाकुराका ५० वर्षीय पदम बहादुर विष्टको शनिबार अपराह्न बँदेलको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै बारीमा काम गरिरहेका बेला जङ्गलबाट निस्किएको बँदेलले एक्कासि आक्रमण गर्दा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि माघ १२ गते भैरवी गाउँपालिका–६ कुर्माकोटमा पनि बँदेलको आक्रमणबाट ७७ वर्षीय प्रदीप सिंहको मृत्यु भएको थियो। घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका सिंहमाथि बँदेलले आक्रमण गरेको र उपचारका लागि अस्पताल लैजाने तयारीकै क्रममा घरमै मृत्यु भएको सूचना अधिकारी पचभैयाले जानकारी दिए।
सोही घटनामा स्थानीय ४० वर्षीय दीपक सिजाली र १८ वर्षीय मिकेश सिजाली घाइते भएका थिए। घाइते दीपकलाई सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ भने मिकेशको जिल्ला अस्पताल दैलेखमै उपचार भइरहेको छ।
त्यसैगरी माघ २० गते आठबिस नगरपालिका–८ उकाली मोडमा ३० वर्षीय दीपेन्द्र बडुवाल पनि बँदेलको आक्रमणबाट घाइते भएका थिए। घरबाट तिलेपाटा जाने क्रममा बाटोमै बँदेलले आक्रमण गर्दा उनको हात, खुट्टा र छातीमा चोट लागेको थियो। घाइते बडुवाललाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
पछिल्लो समय दैलेखका विभिन्न स्थानमा बँदेलको आक्रमणका घटना बढ्दै गएपछि स्थानीय बासिन्दा भयभीत बनेका छन्। वन्यजन्तुको नियन्त्रण तथा नागरिक सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार













प्रतिक्रिया