काठमाडौँ– तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेल्न लागेको नेपालले आज (आइतबार) बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्दैछ।
नेपाल र दुईपटकको विश्वविजेता इंग्ल्यान्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ। इंग्ल्यान्डले सन् २०१० मा पहिलोपटक र सन् २०२२ मा दोस्रोपटक टी–२० विश्वकपको उपाधि जितेको थियो।
नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो भने १० वर्षपछि सन् २०२४ मा दोस्रोपटक विश्वकपमा सहभागिता जनाएको थियो। यसपटक एसिया–प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा शीर्ष स्थान हासिल गर्दै नेपालले विश्वकपको टिकट सुरक्षित गरेको हो।
नेपालले आफ्नो दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग खेल्नेछ। उक्त खेल पनि वानखेडे स्टेडियममै दिउँसो सवा ३ बजे सुरु हुनेछ। इटाली युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छनोट भएको टोली हो।
त्यसैगरी, नेपालले तेस्रो खेल फेब्रुअरी १५ मा बलियो टोली वेस्ट इन्डिजसँग खेल्नेछ। यो खेल बिहान सवा ११ बजे वानखेडे स्टेडियममै हुनेछ। वेस्ट इन्डिज सन् २०१२ र २०१६ को टी–२० विश्वकप विजेता टोली हो।
समूह चरणको अन्तिम खेल नेपालले फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ। उक्त खेल साँझ सवा ७ बजे वानखेडे स्टेडियममै सुरु हुनेछ।
विश्वकपमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिँदैछ। सन् २०२४ को विश्वकपमा पनि रोहितले नै टोलीको नेतृत्व गरेका थिए। टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन्।
विश्वकपअघि नेपाली टोलीले भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा विजय हासिल गरेपछि टोली उच्च मनोबलका साथ विश्वकपमा होमिएको छ। पहिलो अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ७ विकेटले पराजित गरेको थियो। यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो भने नेपालले १७ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
त्यसैगरी, दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको थियो। क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएकोमा नेपालले १८ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। औसत १५० रनको लक्ष्य सजिलै पछ्याउन सक्नु नेपाली टोलीका लागि सकारात्मक पक्ष बनेको छ।
उच्च मनोबलका साथ मैदानमा उत्रिएको नेपाल यसपटक सुपर–८ चरणमा पुग्ने लक्ष्यसहित प्रतिस्पर्धामा सहभागी हुँदैछ।
आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण शनिबारदेखि सुरु भएको हो। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताका खेलहरू दुवै देशका विभिन्न सहरमा सञ्चालन हुनेछन्। प्रतियोगिता मार्च ८ सम्म चल्नेछ। १०औँ संस्करणको विश्वकपमा २० टोली सहभागी छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार












प्रतिक्रिया