काठमाडौं । सरकारले आजदेखि देशभरका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार माघ २५ गतेदेखि फागुन १५ गतेसम्म देशभरका कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाइने छ।
यसै अभियानअन्तर्गत गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीलाई पनि खोप प्रदान गरिने शाखाले जनाएको छ। हिमाली तथा बढी हिमपात हुने जिल्लामा भने खोप अभियान चैत महिनामा सञ्चालन गरिनेछ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण भएकाले यसको रोकथामका लागि एचपीभी खोप प्रभावकारी मानिन्छ। कक्षा ६ मा अध्ययनरत किशोरीलाई विद्यालयमै र अन्य किशोरीलाई नजिकका खोप केन्द्रमार्फत खोप लगाइने व्यवस्था गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ, जसमध्ये चार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ। तर एचपीभी खोपमार्फत यो क्यान्सरबाट जोगिन सकिने मन्त्रालयले जनाएको छ।
गत वर्ष सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपीभी खोप लगाएको थियो।
चालु २० दिने अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने लक्ष्य रहेको खोप शाखाले जनाएको छ।
नेपालमा महिलामा देखिने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको तथ्याङ्कले देखाउँछ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया