काठमाडौं । रुपन्देही–२ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका विवादित व्यापारी चुन्न प्रसाद पौडेलको अवैध कार्य र श्रम शोषण लगायतका विषयमा ग्लोबल नागरिकले समाचार प्रकाशन तथा प्रसारण गरेपछि उनै चुन्न प्रसाद पौडेलले साइबर ब्युरोबाट सम्पादकलाई फोन गर्न लगाएर समाचार हटाउने चेष्टा गरेका छन्।
ग्लोबल नागरिकमा “चुन्नु पौडेलको विगत र वर्तमान: श्रम शोषण देखि गैरकानुनी धन्दासम्म” लगायत शीर्षकमा समाचार प्रकाशन तथा प्रसारण भएपछि पौडेलले प्रहरी लगाएर प्रकाशित समाचार हटाउन दबाब दिएका हुन्।
बुधबार दिउँसो १२:०० बजे साइबर ब्युरोबाट चुन्न पौडेल तर्फ झुकाव देखाई एक महिला प्रहरीले ग्लोबल नागरिकका सम्पादकलाई फोन गरेकि थिईन्। संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचारको विषय प्रहरीको क्षेत्राधिकार भित्र नपर्ने भन्दै प्रकाशित तथा प्रसारित समाचारप्रती चित्त नबुझे उजुरी कर्तालाई प्रेस काउन्सिलमा उजुरी गर्न भन्नू भन्ने सम्पादकको जवाफपछि प्रहरीले गल्ती स्विकार्दै फोन राखेकी थिइन्।
संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचार साइबर ब्युरोको क्षेत्राधिकार भित्र नपर्ने स्पष्ट कानुनी व्यवस्थालाई बेवास्ता गरी कानुनको धज्जी उडाउँदै प्रहरीबाट फोन गर्न लगाएर आफ्नो विषयको समाचार ढाकछोप गर्न उद्दत देखिएका पौडेल रुपन्देही–२ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका विवादित छवि बनाएका व्यापारी हुन्।
अरर्बौंको राजस्व छली र गैरकानुनी कार्यमा मुछिएका चुन्न प्रसाद पौडेललाई रुपन्देही-२ बाट नेपाली काङ्ग्रेसले टिकट दिँदा पार्टी भित्रै असन्तोष पैदा भएको विषय समेत सार्वजनिक भएको थियो।
चुन्न प्रसाद पौडेल श्रीराम टोबाको उद्योग प्रा.लि मार्फत उत्पादित करेन्ट गुड्खा र एशोदा फुड्स प्रा.लि बाट उत्पादित करेन्ट चाउचाउको मालिक समेत हुन् ।
सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन विपरीत जनस्वास्थ्यमाथी खेलवाड गरेका उनै चुन्न पौडेलको उद्योगले श्रम शोषण गरेको भन्दै कपिलवस्तुको शिवराज नगरपालिका–६, वीरपुरस्थित यशोदा फुड्समा कार्यरत मजदुरहरु लामो समय देखी आन्दोलनरत छन्।
कानुन विपरीत जनस्वास्थ्यमाथि खेलवाड गर्दै श्रम शोषण समेत गरेका उनै चुन्न पौडेल रुपन्देही-२ बाट निर्वाचित भई संविधान, ऎन-नियम निर्माण र संसोधन गर्ने ठाउँमा पुगे के होला ? भन्ने आम जनचासोका प्रश्न सहित सोही विषयमा समाचार प्रकाशन तथा प्रसारण भएपछि उनि समाचार रोक्न उद्दत देखिएका छन्।
संचार माध्यममा प्रकाशित समाचारप्रती चित्त नबुझे खण्डन सहित संचार संस्था वा प्रेस काउन्सिल मार्फत खण्डन पठाउने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै खोजमुलक पत्रकारितामा केन्द्रीत ग्लोबल नागरिकमाथि दबाब सिर्जना गर्ने हेतुले पौडेलले साइबर व्युरो लगाएर समाचार हटाउने गलत चेष्टा गरेका हुन्।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया