काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन दल र नेताले होइन, देशले जित्ने चुनाव भएको बताएका छन्।
‘जनसम्पर्क’ कार्यक्रमका क्रममा रूपन्देही क्षेत्र नम्बर १ अन्तर्गत देवदह खैरेनीमा आयोजित कार्यक्रममा बोल्दै उनले हरेक निर्वाचनमा दल र नेताले जित्दै आएको भए पनि यसपटकको चुनाव देशका पक्षमा हुने दाबी गरे।
रास्वपामा बालेन्द्र शाह (बालेन) को टिम समाहित भएको सन्दर्भ उल्लेख गर्दै लामिछानेले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट गरिएको बताए। अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार रहने उनको भनाइ छ।
लामिछानेले रास्वपा घोषणापत्रभन्दा काममा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै विगतमा अन्य दलले गर्न नसकेका काम आफूहरूले पूरा गर्ने जिकिर गरे।
देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र त्यसपछि कपिलवस्तु जिल्ला प्रवेश गर्ने पार्टीले जनाएको छ। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माका अनुसार सभापति लामिछानेले रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा पुग्ने योजना छ, यद्यपि समय अभावका कारण केही स्थानमा संक्षिप्त रूपमा हात हल्लाएर अभिवादन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया