काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले विदेशमा ज्यान गुमाएका नेपालीको उद्धार, विकास बजेटको कार्यान्वयन, महँगी नियन्त्रण तथा आगामी निर्वाचनको सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाएका नेपाली श्रमिकको शव स्वदेश ल्याउन र हराइरहेका श्रमिकको खोजी कार्य तीव्र पार्न सरकारसँग आग्रह गरिन्।
सांसद जयन्ती देवी राईले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार र अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्। सांसद दुर्गाकुमारी गुरुङले विकास निर्माणका कार्यमा अवरोध सिर्जना भएको उल्लेख गर्दै विकास बजेट रोक्का नगर्न सरकारसँग माग गरिन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै सांसद नरबहादुर विष्ट र सुरेशकुमार आलेमगरले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सरकार र सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिए। सांसद विष्टले विशेषगरी झापा जिल्लामा सम्भावित द्वन्द्व र झडपको जोखिमप्रति समयमै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए।
सांसद युवराज शर्माले निष्पक्ष निर्वाचनका लागि वर्तमान संविधानका पक्षधर शक्तिहरूले स्पष्ट र कडा भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
यसैगरी, सांसद भुवनबहादुर सुनारले महँगी नियन्त्रणको विषय उठाउँदै ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग आग्रह गरे। सांसद मदनकुमारी शाह (गरिमा)ले सुदूरपश्चिमका सडकहरू असुरक्षित बन्दै गएको उल्लेख गर्दै यात्रु सुरक्षाका लागि शीघ्र सुधार आवश्यक रहेको बताइन्।
सांसद राजेन्द्रलक्ष्मी गैरेले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम गम्भीर सङ्कटमा परेको बताउँदै कार्यक्रम जोगाउन सरकार तुरुन्त पहल गर्नुपर्ने माग गरिन्। उनले कर्मचारी र सेवाग्राही दुवैलाई हतोत्साहित गर्ने किसिमका मापदण्ड लागू गर्न नहुने तर्क पनि प्रस्तुत गरिन्।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया