डडेलधुरा । नेकपा (एमाले) डडेलधुरा जिल्ला कमिटी सदस्य बिक्रम ऐरसहित ३० जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। अजयमेरु गाउँपालिकास्थित चमडा पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेशसँगै उनीहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवार नैनसिंह महरलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै बिक्रम ऐरले मुलुकको राजनीतिक निकास र जनताको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताए।

advertisement

उनले राजनीतिक दल नारामा सीमित नभई व्यवहारमै जनताको काम गर्न सक्नुपर्ने उल्लेख गर्दै वर्तमान अवस्थामा कांग्रेस नै भरोसायोग्य शक्ति रहेको दाबी गरे। एमालेभित्र राजनीतिक इमान्दारिता कमजोर हुँदै गएको र कार्यकर्ताको भविष्य सुरक्षित नभएको महसुस भएपछि कांग्रेसमा समाहित भएको उनको भनाइ थियो।

‘योजना, अनुभव र केन्द्रसँग प्रभाव राख्ने नेतृत्व नैनसिंह महरलाई जिताउनु डडेलधुराको हितमा छ,’ ऐरले भने।

कांग्रेस उम्मेदवार नैनसिंह महरले नवप्रवेशीहरूलाई स्वागत गर्दै चमडाबाट सुरु भएको समर्थनको लहरले फागुन २१ गतेको निर्वाचन परिणाम कांग्रेसको पक्षमा आउने विश्वास व्यक्त गरे। उनले अजयमेरुवासीको समर्थनले आफूलाई थप ऊर्जा मिलेको पनि बताए।

कार्यक्रममा कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउद, पूर्व सभापति रघुवर भट्ट, सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री गोविन्द बोहोरा लगायतका नेताहरूले नवप्रवेशीहरूलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए। पार्टी नेतृत्वले नवप्रवेशीहरूलाई क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने प्रतिबद्धता समेत जनाएको छ।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com