काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले सरकारले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्नु नहुने स्पष्ट धारणा व्यक्त गरेका छन्। स्वास्थ्य बीमा बन्द भए नागरिक उपचारबाटै वञ्चित हुने गम्भीर अवस्था आउने चेतावनी उनले दिएका छन्।
काठमाडौँ–५ मा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री रहँदा स्वास्थ्य बीमामा नीतिगत र व्यवहारिक सुधार अघि बढाइएको तर सरकारबाट बाहिरिएपछि ती प्रक्रिया अवरुद्ध भएको गुनासो गरे। ‘बीमा हामी हुँदा कहीँ बन्द भएको थिएन, अहिलेको सरकारले पनि बन्द हुन दिनु हुँदैन,’ उनले भने।
उनले स्वास्थ्य बीमालाई सुधार गर्नु नै एक मात्र विकल्प रहेको उल्लेख गर्दै सुधारका आधारमा विपन्न वर्गले ३ लाखदेखि साढे ७ लाख रुपैयाँसम्म उपचार सुविधा पाउने अवस्था सिर्जना भएको बताए। आफूले तयार पारेको प्रतिवेदनअनुसार प्रक्रिया लागू भए एक वर्षमै स्वास्थ्य बीमाबाट १ खर्ब रुपैयाँसम्म आम्दानी हुन सक्ने र आवश्यक परेकालाई ५ लाख रुपैयाँसम्म उपचार सुविधा दिन सकिने उनको दाबी छ।
क्षेत्रीय विकासबारे बोल्दै पौडेलले काठमाडौँ–५ मा सांसद रहँदा रिङरोड विस्तार, मेलम्ची खानेपानी विस्तार, सार्वजनिक जग्गा संरक्षण, विष्णुमती करिडोर लगायतका महत्वपूर्ण काम अघि बढेको बताए। संसद्मा निजी विधेयक दर्ता गर्ने र जनचासोका विषयमा ऐन संशोधन प्रस्ताव राख्ने काम आफूले निरन्तर गरेको उनको भनाइ छ।
मन्त्रीकालमा किशोरीहरूका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध १५ लाखलाई खोप दिई राष्ट्रिय कार्यक्रम सुरु गरिएको स्मरण गर्दै उनले जलन उपचार निःशुल्क गरिएको समेत बताए। विगतको कामकै आधारमा कांग्रेसका पक्षमा मत माग्न सकिने अवस्था रहेको उल्लेख गर्दै आफूलाई परिपक्व र जिम्मेवार युवाका रूपमा प्रस्तुत गरे।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया