काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरमा छपाइ भइरहेको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथरका लागि मतपत्र छपाइ सम्पन्न भएको छ।

advertisement

त्यसैगरी इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङका लागि पनि मतपत्र छपाइ पूरा भइसकेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीअन्तर्गत मतपत्र छपाइ गत पुस २२ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा सुरु गरिएको हो। आयोगका अनुसार पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ गत पुस २६ गतेदेखि मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। ती मतपत्र प्याकिङ, रुजु तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेछ। प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ १६ गते बिहानदेखि सुरु गरिएको हो।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com