काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिले जितेका क्षेत्रमा समेत कमजोर बन्दै गएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा आधारित ‘स्टन्ट राजनीति’ गर्नेहरूलाई यसपटकको निर्वाचनमा कठिनाइ हुने उनको भनाइ छ।
पार्टी कार्यालयमा आयोजित संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिका अगुवाहरूसँगको अन्तरक्रियामा बोल्दै दाहालले काठमाडौं उपत्यकामा समेत रास्वपाको अवस्था कमजोर रहेको बताए। उनले भने, “हामीले सोसियल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौँ। पहिला जहाँ जितेका थिए, त्यहाँ नै अहिले उनीहरूको ओरालो लागेको छ। काठमाडौं उपत्यकामा हेर्दा पनि उनीहरूको स्थिति राम्रो छैन। नयाँ ठाउँमा भ्रम सिर्जना गर्न भने सजिलो हुँदो रहेछ।”
दाहालले आगामी निर्वाचनमा नेकपा पहिलो दल बन्ने दाबी दोहोर्याउँदै पार्टीको संगठनात्मक हैसियत ७७ वटै जिल्लामा बलियो रहेको बताए। उनका अनुसार सबै निर्वाचन क्षेत्रमा प्रभाव पार्न सक्ने अवस्था नेकपाको छ।
“७७ वटै जिल्ला र सबै निर्वाचन क्षेत्रमा हामी प्रभाव पार्न सक्छौँ,” उनले भने, “काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, भरतपुर, दाङ, नेपालगन्ज, धनगढीजस्ता ठूला सहरहरूमा विभिन्न क्षेत्रबाट आएर बसेर काम गरिरहेका नागरिकलाई लक्षित गर्दै पार्टीले अभियान सञ्चालन गरिरहेको छ।”
दाहालले नेकपा पहिलो पार्टी बन्ने दाबी भावनात्मक नभई जनस्तरमा देखिएको अवस्था, विपक्षी दलका गतिविधि तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले गरेका सर्वेक्षणका नतिजाका आधारमा गरिएको बताए।
“यो कुनै भावनामा आएर गरिएको दाबी होइन,” उनले भने, “देशभरि घुम्दा जनताको तहमा बनिरहेको वातावरण, विपक्षीहरूका गतिविधि र विभिन्न सर्वे रिपोर्टहरू हेर्दा हामी पहिलो पार्टी बन्दैछौँ। त्यसका लागि अबका २३–२४ दिन युद्धस्तरमा खटिन आवश्यक छ।”
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया