काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले देशमा लामो समयदेखि देखिँदै आएको भ्रष्टाचार, असफल नेतृत्व र सत्ता केन्द्रित सोचको अन्त्य जनताको मतबाट मात्र सम्भव हुने बताएका छन्।
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ अन्तर्गत नागार्जुन नगरपालिका–७ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै अर्यालले पुराना र असफल राजनीतिक अभ्यासलाई विस्थापित गर्दै जनउत्तरदायी नेतृत्व चयन गर्न आगामी निर्वाचन निर्णायक हुने बताए।
उनले भने, “देशको राजनीतिमा पटक–पटक दोहोरिँदै आएको असफल नेतृत्व, भ्रष्टाचार र सत्ता केन्द्रित सोचको अन्त्य अब जनमतबाट मात्रै सम्भव छ। फागुन २१ गते हुने निर्वाचन इमानदार, परिणाममुखी र जनउत्तरदायी नेतृत्व चयन गर्ने महत्त्वपूर्ण अवसर हो।”
मतदातासँगको संवादका क्रममा शिक्षा, स्वास्थ्य सेवा, रोजगारी सिर्जना, स्थानीय विकास र सुशासनका विषयहरू प्रमुख रूपमा उठेका थिए। अर्यालले रास्वपाले आफ्नो चुनावी घोषणापत्रलाई कागजमा सीमित नराखी व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपा जनताको आवाजलाई निर्णायक शक्तिमा रूपान्तरण गर्ने अभियानमा रहेको उल्लेख गर्दै उनले परिवर्तन चाहने सबै नागरिकलाई एकजुट हुन आह्वानसमेत गरे।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया