नेपालगञ्ज । बाँके जिल्लामा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३१ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार साउनदेखि माघ २५ गतेसम्म जिल्लामा ६५३ वटा सवारी दुर्घटना भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार ती दुर्घटनामा २१ जना पुरुष, सात जना महिला र तीन जना बालकको मृत्यु भएको छ। साथै दुर्घटनामा परेर ६६ जना गम्भीर घाइते भएका छन् भने एक हजार ३० जना सामान्य घाइते भएका छन्।
गत आर्थिक वर्ष २०८१/०८२ को यही अवधिमा भने सवारी दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका थिए। उक्त अवधिमा ४० जना पुरुष, छ जना महिला र एक जना बालकको मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
उनका अनुसार गत वर्ष सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका थिए। माघ महिनामा मात्रै ६२ वटा मोटरसाइकल, १४ वटा टेम्पो तथा ११ वटा जीप–कार दुर्घटनामा परेका थिए।
यस्तै, चालु आर्थिक वर्षको हालसम्म १४ हजार ३८५ सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको छ। सो कारबाहीबाट एक करोड १६ लाख ३१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका ४१३ जना र तीव्र गतिमा सवारी चलाएका ५६४ जनालाई कारबाही गरिएको पनि इन्सपेक्टर शाहीले बताए।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया