काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी अभियान लिएर देश दौडाहमा निस्किएका छन्। पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित थापा विभिन्न जिल्लामा कार्यक्रम गर्दै मधेश पुगेका हुन्।
हिजो विराटनगर विमानस्थलमा अवतरण गरेका थापाले मोरङ र सुनसरीका कार्यक्रम सम्पन्न गरी आज सप्तरीका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन्। उनी सप्तरी, सिराहा र धनुषा हुँदै मधेश यात्रामा रहेका छन्।
थापा सप्तरी पुग्नुअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पनि सप्तरी पुगेका थिए। रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ भने नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ। बालेन शाह आज सप्तरी, सिराहा र धनुषा हुँदै महोत्तरीको बर्दिवासमा बस्ने कार्यक्रम रहेको छ।
यसपटकको निर्वाचनमा गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। उक्त क्षेत्रमा उनको प्रतिस्पर्धा रास्वपाबाट उम्मेदवार बनेका डा. अमरेशकुमार सिंहसँग भइरहेको छ। थापा उम्मेदवारी दर्ताका क्रममा भौतिक रूपमा उपस्थित हुन नसके पनि वारेसमार्फत मनोनयन दर्ता गराएका थिए। पछि उनी चुनावी क्षेत्रमा पुगेर घरदैलो अभियान सञ्चालन गरिसकेका छन्।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया