काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्र नभई ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने बताएका छन्। सिरहा निर्वाचन क्षेत्र नम्बर–३ प्रतिनिधिसभाद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।
सभापति थापाका अनुसार फागुन २१ गते निर्वाचन सम्पन्न भई चैतमा सरकार गठन हुनेछ। त्यसपछि वैशाख १ गते प्रधानमन्त्रीले उभिएर प्रतिज्ञापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षमा गर्ने कामबारे स्पष्ट प्रतिबद्धता जनाउनेछन्। “भाषण होइन, काम गरेर देखाइन्छ,” उनले भने, “वैशाखभरि बनाइएका योजनाको जेठ १ गते मूल्यांकन हुन्छ। प्रत्येक महिनामा कामको समीक्षा गरिन्छ र त्यसमा नागरिकलाई समेत सहभागी गराइन्छ।”
उनले सरकारको कामको समीक्षा हरेक महिनाको १ गते गर्ने प्रणाली लागू गरिने स्पष्ट पारे। “यस्तो सरकार बनाउन सकिन्छ। समय पनि छ। तर त्यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता आवश्यक छ,” उनले भने।
केवल उखान–टुक्का र भत्काउने कुरा गरेर देश नबन्ने उल्लेख गर्दै सभापति थापाले सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिने बताए। “त्यो क्षमता नेपाली कांग्रेस र मसँग छ,” उनले दाबी गरे।
सभापति थापाले नेपाली कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने विश्वास दिलाउँदै त्यसको जिम्मेवारी आफूले लिने बताए। तर त्यसका लागि जनताले पहिले पार्टीलाई जिताएर पठाउनुपर्नेमा उनले जोड दिए।
“हामी सपना बोकेर आएका छौं,” उनले भने, “देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन, युवालाई भरोसा दिन र सबैलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौं। त्यसका लागि जनताको साथ आवश्यक छ।”
युवाहरूकै भविष्यका लागि जोखिम मोलेर आफू पार्टीको सभापति बनेको पनि थापाले कार्यक्रममा उल्लेख गरे।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया