काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको निर्वाचन माहोल लगातार सुधार हुँदै गएको दाबी गरेका छन्।
बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले भने, “यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षी राजनीतिक दल, बुद्धिजीवी र पत्रकारहरू सबैले पनि आज भोलि भन्न सुरु गरेका छन् कि नेपाली कम्युनिस्ट पार्टीको अवस्था सोचेभन्दा राम्रो हुँदै गएको छ।”
उनले थपे, “पहिले त हामीलाई बडो हेपेर ‘एकदम कम मत ल्याउँछ’ भन्थे, तर अहिले त्यो धारणा परिवर्तन भएको छ। केही मानिसहरू पनि अहिले हाम्रो पार्टी प्रतिस्पर्धामा आएको स्वीकार गर्दै छन्। अहिले चारवटा दलबीच प्रतिष्पर्धा हुने चर्चा पनि छ।”
प्रचण्डले प्रत्यक्षतर्फको निर्वाचनमा पार्टीको राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै पार्टीका नेता र कार्यकर्तालाई प्रचार अभियानमा पूर्ण मेहनत गर्न निर्देशन दिए।
उनको भनाइ अनुसार, नयाँ राजनीतिक दलहरूले केही नयाँ क्षेत्रमा प्रभाव देखाए पनि पुराना क्षेत्रमा त्यस्तो माहौल देखिएको छैन। प्रचण्डले आफ्नो पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र रास्वपाबीच देशभर कडा प्रतिष्पर्धा हुने पनि बताए।
“हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मलाई विश्वास छ–आउँदो १०–१५ दिनभित्र पार्टीले टप्यो, अघि बढ्यो भन्ने माहोल बन्नेछ। यदि हामी सबैले मेहनत गर्यौँ भने अहिलेको परिस्थिति यस्तै बन्दै गएको छ,” प्रचण्डले भने।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया