झापा। नेपाली कांग्रेसबाट झापा क्षेत्र नम्बर ५ की उम्मेदवार मन्धरा चिमरियाले स्थानीय जनतासँग निरन्तर सम्पर्कमा रहेर काम गरेको भन्दै आफू विजयी हुने दाबी गरेकी छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै चिमरियाले आफू सोही क्षेत्रकी स्थानीय बासिन्दा भएको उल्लेख गर्दै वर्षौंदेखि समाजसेवा र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन्। स्थानीयका समस्या र गुनासा प्रत्यक्ष सुनेर समाधानका लागि पहल गर्दै आएकाले जनताको विश्वास पाउने उनको भनाइ छ।
“म यहीँको स्थानीय हुँ। मेरो क्षेत्रमा मैले स्थानीयहरूको समस्या र गुनासो सुनेर काम गरेकी छु। बालबालिकाको क्षेत्रमा पनि विशेष काम गर्दै आएकी छु, त्यसैले यहाँका धेरैले मलाई चिन्नुहुन्छ,” उनले भनिन्, “मतदाता नै मेरो परिवार हो। यसपालि भोट मलाई नै दिनुहुन्छ भन्नेमा म विश्वस्त छु।”
उनले आफू मिडियामा धेरै नदेखिए पनि घरदैलो अभियानमार्फत निरन्तर जनतामाझ पुगिरहेको बताइन्। “म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु। त्यसकारण मलाई उहाँहरूको मतप्रति विश्वास छ,” उनले थपिन्।
झापा–५ मा यसपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। सोही क्षेत्रमा नेकपाले रञ्जित तामाङलाई पनि उम्मेदवार बनाएको छ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया