काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ र २ को सीमाक्षेत्र गजुलदहमा पर्ने सुनकोशी नदीबाट दिनदहाडै अवैध रूपमा बालुवा उत्खनन र तस्करी भइरहेको खुलासा भएको छ। दैनिक लाखौँ रुपैयाँ बराबरको बालुवा केहि गिरोहले खुलेआम तस्करी गरे पनि राज्यका निकायहरू भने मूकदर्शक बनेका छन्।

स्थानीयवासीको सूचनापछि ग्लोबल नागरिकको टोलि गजुलदह पुगेको थियो। तर त्यहाँ अवैध उत्खननमा संलग्न समूहले ‘शक्ति, पहुँच र सेटिङ’को आडमा पत्रकारलाई फोटो र भिडियो खिच्न समेत अवरोध गरेका थिए। दिनको उज्यालोमै डोजर, टिफर र ट्रक प्रयोगगरी नदी दोहन भइरहेको दृश्यले राज्यको उपस्थिति नै हराएको आभास दिएको थियो।

advertisement

अवैध बालुवा तस्करीको विषयमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई जानकारी गराइएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठले तत्काल आवश्यक छानबिन गरी कार्वाही गर्ने बताएकी छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लाल ध्वज सुवेदीले ‘तत्काल प्रहरी पठाई बुझ्ने र छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने’ प्रतिबद्धता जनाए पनि नदिकिनारमा खुलेआम बालुवा तस्करी भने अहिलेसम्म रोकिएको छैन।

स्थानीय बासिन्दाहरूले स्थानीय सरकार र प्रहरी प्रशासनकै मिलेमतोमा अवैध उत्खनन भइरहेको गम्भीर आरोप लगाएका छन्। “डोजर, टिफर र ट्रक दिनभरि चलेका छन्, तर प्रहरी प्रशासन, गाउँपालिका र वडास्तरबाट सबैले अनदेखा गरेका छन्,” एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए।

सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दाहालले भने यस विषयमा अनविज्ञता जाहेर गर्दै यदि बालुवा तस्करी भएको पाइए कानुनअनुसार कारबाही गर्ने बताइन् । वडा नं. १ का वडाध्यक्ष रामकुमार श्रेष्ठले भने स्थानीय केही युवाको समूहले अनाधिकृत रूपमा नदीबाट बालुवा उत्खनन गरिरहेको स्वीकार गरेका छन्।

यसअघि रोशी खोला र सुनकोशी नदीकै दोहनका कारण ठूलो बाढी र कटानले बस्ती र कृषि जमिन तहसनहस भएको इतिहास अझै ताजै छ। अहिले सोही रोशी खोलाको दोभान क्षेत्रमा पर्ने सुनकोशी नदीबाट पुनः उस्तै शैलीमा दोहन भइरहेको छ, जसले भविष्यमा ठूलो विपत्ति निम्त्याउने खतरा बढाएको विज्ञहरूले चेतावनी दिएका छन्।

यसरी दिनदहाडै नदी लुटिँदा स्थानीय सरकार, प्रहरी प्रशासन र सम्बन्धित निकायहरू सबैले अनदेखा गरेका कारण सुनकोशीमा चलिरहेको यो अवैध बालुवा तस्करी साम्राज्यको संरक्षण कसले गरिरहेको छ? भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको छ।

  • थप रिपोर्ट क्रमशः 

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com