काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दै छ। नेपालले एसोसिएटेड टोली इटालीलाई हराउँदै विश्वकपमा १२ वर्षपछि जित निकाल्ने प्रयासमा मैदान उत्रिँदै छ।
समूह ‘सी’ अन्तर्गत नेपाल र इटालीबीचको खेल दिउँसो ३:१५ बजे मुम्बईको वाङ्खेडे मैदानमा हुनेछ। दुवै टोली पहिलो जितका लागि मैदानमा उत्रिँदै छन्। आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग तथा इटाली स्कटल्यान्डसँग पराजित भएका थिए।
नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा भने इटाली नयाँ प्रतिद्वन्द्वी हो। यद्यपि १३ वर्षअघि सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटालीसँग एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपालले २ सय ११ बल बाँकी रहँदै ८ विकेटको जित निकालेको थियो। उक्त समयमा नेपालको तर्फबाट पारस खड्का कप्तान रहेका थिए।
त्यसपछि नेपालले इटालीलाई सधैं पछि छाडेको थियो। यद्यपि १३ वर्षपछि इटालीसँग फरक फर्म्याटमा खेल्दा दुवै टिम नयाँ उद्देश्यका साथ मैदानमा रहेका छन्। नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपमा खेल जितेको छैन। त्यसैले पनि नेपाल विश्वकपमा दोस्रो जित इटालीसँगको खेलबाट लिन चाहन्छ। यसअघि दुई पटक नेपाल दुई ठूला टेस्ट टोलीसँग जित नजिक पुगेर स्तब्ध बनेको थियो।
अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले स्तब्ध बनेको नेपाल यो पटक आफ्नो पहिलो खेलमै इंग्ल्यान्डसँग ४ रनले हारेको थियो। नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डको २ खेलमा समान २ अंक रहेको छ
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया