काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश निर्माण कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नहुने बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत धन्कौलमा बुधबार साँझ आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले देशलाई अगाडि बढाउन सबै राजनीतिक दल र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।

‘यदि एक व्यक्तिले देश बनाउन सक्ने भए, इतिहासमै राजामहाराजाले बनाइसक्थे,’ उनले भने, ‘देश सामूहिक सङ्कल्प र सहकार्यबाट मात्र अघि बढ्छ।’ राजनीतिक दलहरूबीच सहमति र सहकार्यको वातावरण बनाउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका खेल्ने उनले उल्लेख गरे।

advertisement

थापाले आफू सहज निर्वाचन क्षेत्र छाडेर सर्लाही आएको स्पष्ट पार्दै मधेशको यथार्थ बुझ्ने र यहाँका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। ‘काठमाडौँ–४ जस्तो बलियो आधार भएको क्षेत्र हुँदाहुँदै पनि म मधेशको पीडा र सम्भावना बुझ्न यहाँ आएको हुँ,’ उनले भने।

पार्टीले आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको स्मरण गराउँदै उनले देशभरबाट सहयोग र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री बन्ने अवसर नपाए पनि सर्लाही–४ को विकासका लागि निरन्तर काम गर्ने उनको भनाइ थियो।

‘मलाई नेता वा माननीयका रूपमा होइन, परिवारकै सदस्यका रूपमा लिनुहोस्,’ उनले आग्रह गरे। आगामी पाँच वर्ष सर्लाहीका नागरिकसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सर्लाही र काठमाडौँ दुवै ठाउँमा सेवा कार्यालय सञ्चालन गर्ने योजना रहेको बताए।

‘आज म मत माग्दैछु, भोलि तपाईंहरू मसँग हक माग्न सक्नुहुन्छ,’ उनले भने।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com