रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दी क्षेत्रमा बिहीबार दिउँसो आगलागी हुँदा ठूलो परिमाणमा सालको काठ नष्ट भएको छ।
आगलागीबाट करिब ८ हजार क्युफिट सालका गोलिया काठ जलेर नष्ट हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। उक्त काठ विगत २०७६ सालमा ४ सय केभी विद्युत प्रसारण लाइन विस्तारका क्रममा काटेर वन क्षेत्रमै घाटगद्दी गरी राखिएको थियो।
उपभोक्ताको माग हुँदाहुँदै पनि समूहभित्रको आन्तरिक विवाद र प्रक्रियागत ढिलाइका कारण काठ बिक्री प्रक्रिया अघि बढ्न सकेको थिएन। जुडिबेला सब–डिभिजन वन कार्यालयका अधिकृत बालकिशोर सिंहका अनुसार, समूहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चलिरहेको तथा लामो समयदेखि लेखापरीक्षण र साधारण सभा नहुँदा काठ व्यवस्थापनमा समस्या आएको थियो।
समयमै बिक्री नहुनु र प्रभावकारी गस्तीको अभाव नै यति ठूलो क्षतिको प्रमुख कारण भएको स्थानीय अधिकारीहरूको भनाइ छ।
प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीका अनुसार गर्मी र सुख्खा मौसमका कारण आगो तीव्र गतिमा फैलिएको थियो। आगलागीको जानकारी ढिलो प्राप्त भएकाले क्षति बढेको उनले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया