काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ को निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत हासिल गरी पुनः पहिलो दलको रूपमा स्थापित हुने दाबी गरेका छन्। रुपन्देहीको भैरहवामा आयोजित उम्मेदवार, नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले वर्तमान विषम परिस्थितिमा सबैलाई जोडेर देशको नेतृत्व गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताए।
उनका अनुसार कांग्रेसले आफूलाई सुधार गर्दै नयाँ एजेण्डा र नयाँ ऊर्जा सहित चुनावमा होमिएको छ। निर्वाचन जित–हार मात्र नभई देशको भविष्यसँग जोडिएको विषय भएकाले देशलाई जिताउन कांग्रेस विजयी हुनुपर्ने उनले उल्लेख गरे। ऐतिहासिक रूपमा २००७, २०१५, २०४६ सालका परिवर्तन, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, संविधान निर्माण र संघीयता कार्यान्वयनमा कांग्रेसको भूमिका रहेको उनले स्मरण गराए।
शर्माले उम्मेदवार चयनमा ठूलो हिस्सा युवा र नयाँ अनुहारलाई अवसर दिइएको बताए। १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाएको उल्लेख गर्दै पार्टीभित्र सुधारका लागि विशेष महाधिवेशनबाट महत्वपूर्ण निर्णयहरू गरिएको जानकारी दिए। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद पदका लागि कार्यकाल सीमाको व्यवस्था गरिएको पनि उनले बताए।
यसैबीच, चितवनमा आयोजित अर्को कार्यक्रममा उनले नेता–कार्यकर्तालाई कसैलाई गाली नगरी आफ्ना एजेण्डा स्पष्ट रूपमा जनतामाझ लैजान र एकढिक्का भएर निर्वाचनमा जुट्न आग्रह गरे। पार्टीले सञ्चालन गर्न लागेको २१ दिने अभियानमा सबैलाई आफ्नै वडामा सक्रिय भएर खटिन निर्देशन दिइएको छ
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया