काठमाडौं । निर्वाचन आउन अब २० दिन मात्र बाँकी रहँदा निर्वाचन आयोग ले कर्णाली प्रदेश का १० जिल्लामा मतपत्र पठाउन थालेको छ। छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका लागि मतपत्र ढुवानी सुरु गरिएको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र पठाइएको छ। हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ। कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छापिएको आयोगले जनाएको छ।
आयोगका अनुसार १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ गरिसकिएको छ। दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने १३ देखि १५ लाखसम्म मतपत्र छपाइ हुँदै आएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा मतपत्र छपाइ भइरहेको छ। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर सम्बन्धित जिल्लामा पठाइसकिएको छ
समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ र रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ। माघ १६ गते बिहानदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु भएको आयोगले जानकारी दिएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया