काठमाडौं । बंगलादेश मा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले भारी बहुमतसहित विजय हासिल गरेको छ। २९९ सिटमध्ये २०९ सिट जित्दै बीएनपीले दुई तिहाइ नजिकको बहुमत सुरक्षित गरेको छ। हालसम्म २८६ सिटको नतिजा सार्वजनिक भइसकेको छ।
जमात-ए-इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले ७० सिट जितेको छ। जमात प्रमुख शफिकुर रहमानले ढाका–१५ सिटमा विजय हासिल गरेका छन्। करिब २० वर्षपछि बीएनपी पुनः सरकारमा फर्किने भएको हो। शेख हसिना नेतृत्वको अवामी लिग २००८ देखि २०२४ सम्म सत्तामा थियो।
यो जितसँगै बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। उनले दुई क्षेत्रमा चुनाव लडेर दुवैमा जित हासिल गरेका छन्। १७ वर्षको निर्वासनपछि उनी गत डिसेम्बरमा स्वदेश फर्किएका थिए। उनकी आमा तथा पूर्व प्रधानमन्त्री खालिदा जिया को हालै निधन भएसँगै पार्टीमा उनको पूर्ण नियन्त्रण स्थापित भएको छ।
३५ वर्षपछि बंगलादेशमा निर्वाचित पुरुष प्रधानमन्त्री बन्ने अवस्था सिर्जना भएको छ। यसअघि काजी जफर अहमद १९८८ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि शेख हसिना र खालिदा जियाले लामो समयसम्म पालैपालो सत्ता सम्हाले। हाल अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुस ले गरिरहेका छन्, तर उनी निर्वाचित प्रधानमन्त्री होइनन्।
निर्वाचनसँगै जनमत संग्रह पनि सम्पन्न भएको छ। संवैधानिक संशोधनसम्बन्धी प्रस्तावमा “संविधान संशोधन गर्नुपर्छ” भन्ने पक्ष अगाडि देखिएको छ। प्रस्ताव पारित भए प्रधानमन्त्रीको केही अधिकार कटौती भई राष्ट्रपतिको अधिकार विस्तार हुनेछ। साथै, दुई सदनात्मक संसद गठन, संवैधानिक परिषद् स्थापना र एक व्यक्तिको अधिकतम १० वर्ष कार्यकालको व्यवस्था लागू हुन सक्नेछ।
संशोधन पारित भए मानव अधिकार आयोग, सूचना आयोग, प्रेस काउन्सिल, कानून आयोग, बंगलादेश बैंक लगायत निकायमा नियुक्ति प्रक्रियामा पनि परिवर्तन आउने बताइएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया