काठमाडौं । नेपाली कांग्रेस ले बदलिँदो राजनीतिक परिवेशमा समाजका विविध क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूलाई पार्टीमा औपचारिक रूपमा आबद्ध हुन खुला आह्वान गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसे ले शुक्रबार जारी गरेको विज्ञप्तिमा वर्तमान संक्रमणकालीन अवस्थालाई अवसरका रूपमा लिँदै पेशागत दक्षता र सामाजिक प्रतिबद्धता बोकेका व्यक्तिहरूलाई कांग्रेसको लोकतान्त्रिक यात्रामा सहभागी हुन आग्रह गरिएको छ।
विज्ञप्तिअनुसार सभापति गगन थापा को नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। पार्टीले नयाँ ऊर्जा र स्पष्ट दिशासहित वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढिरहेको दाबी पनि गरेको छ।
कांग्रेसले चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजलगायत विविध क्षेत्रमा क्रियाशील, समाज रूपान्तरणप्रति प्रतिबद्ध र राजनीतिक चेतनासहित योगदान गर्न इच्छुक व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्न तयार रहेको उल्लेख गरेको छ।
देश र लोकतन्त्रको सुदृढीकरणका लागि नवीन सोच, सिर्जनात्मक ऊर्जा र अनुभवी जनशक्तिको सहभागिता अपरिहार्य रहेको विश्वास व्यक्त गर्दै कांग्रेसले आफूलाई विचार, विवेक र प्रतिबद्धताको संगमका रूपमा प्रस्तुत गरेको छ।
साथै, व्यक्तिकेन्द्रित होइन संस्थागत मूल्य र प्रणालीलाई प्राथमिकता दिइने स्पष्ट पार्दै पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अंगीकार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया