रुकुम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले ३०औँ जनयुद्ध दिवसको अवसरमा रुकुमको भूमे–२, खाबाङ बगरमा आयोजित कार्यक्रममा जनयुद्धको संघर्ष समाप्त नभएको उल्लेख गर्दै अबको मुख्य लडाइँ उत्पादन र समृद्धिका लागि हुने बताएका छन्।
दाहालले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको बताए। उनले भने, ‘जेन-जेड पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियामा सम्बोधन गरिएका भए पनि शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्। मुद्दा बाँकी छन्, सपनाहरूको हिसाब अझै छैन, हामीले त्यो बिर्सेका छैनौं।’
संविधान जारी भएको एक दशकमा विभिन्न सुधार प्रयास भए पनि अपेक्षित गति नपाएको र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने कार्यक्रम सरकारबाट बाहिरिएपछि रोकिएको दाबी उनले गरे। यसबाहेक, विदेशबाट फर्केका युवाहरूलाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित प्रभाव नपाएको उल्लेख गर्दै उनले अबको ‘युद्ध उत्पादनको युद्ध’ हुने बताए।
पूर्वप्रधानमन्त्री दाहालले सूचना प्रविधि, पर्यटन, कृषि लगायतका क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी र स्वरोजगारी सिर्जना गर्न सकिने योजना प्रस्तुत गरे। साथै उनले अत्यावश्यक औषधि उत्पादन, ‘हिमाल समृद्धि कार्यक्रम’, प्रस्तावित मेगा फूड पार्क, इको–टुरिज्म, हिल स्टेशन र गण्डकी त्रिभुज परियोजनाको कार्यान्वयन पर्याप्त नभएको बताएका छन्।
उनले पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन नहुँदा राम्रा कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको अनुभव साझा गर्दै, दोहोरो जिम्मेवारी भएका निकायहरू एकीकृत गर्ने, संघीय संरचनामा दोहोरिएका कार्यक्रम हटाउने र नीति–बजेट प्रक्रियामा सुधार आवश्यक भएको बताए।
निजामती र शिक्षा विधेयक पर्याप्त बहुमत अभावका कारण पारित हुन नसकेको र तेस्रो शक्ति भएर पनि संविधान कार्यान्वयन तथा समृद्धिका महत्वाकांक्षी योजना ल्याएको दाबी दाहालले गरे। मीटरब्याजलाई अपराध घोषणा गरी कारबाही अघि बढाएको, भुटानी शरणार्थी, बालमन्दिर र त्रिभुवन विश्वविद्यालयको जग्गा प्रकरणमा छानबिन गर्दा विचौलियाहरू आत्तिएको जानकारी उनले दिए।
कुशासन र भ्रष्टाचार बढ्दै गए जनताको आक्रोशले व्यवस्था संकटमा पार्ने चेतावनी उनले पटक–पटक दिएको स्मरण गर्दै दाहालले आफ्नो आजको लडाइँ रुकुमको समृद्धि र समग्र देशको विकासका लागि हुने स्पष्ट पारे।
संयोजक दाहालले लोकतान्त्रिक उपलब्धि रक्षा गर्दै अधुरा एजेण्डा पूरा गर्न नयाँ ऊर्जा, उत्पादनमुखी अभियान र राष्ट्रिय एकताको आवश्यकता रहेको जोड दिए।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया