एजेन्सी । शेख हसिना ले हालै सम्पन्न आम निर्वाचनप्रति तीव्र असन्तुष्टि जनाउँदै उक्त चुनावलाई “मतदाताविहीन, अवैध र असंवैधानिक” भन्दै तत्काल खारेज गर्न माग गरेकी छन्।
सन् २०२४ को जनआन्दोलनपछि उनको नेतृत्वमा रहेको सरकार पतन भएको थियो। त्यसयता पहिलोपटक बंगलादेशमा आम निर्वाचन आयोजना गरिएको हो। तर हसिनाले आफ्नो दल अवामी लिग र व्यापक मतदाता सहभागिताविना चुनाव गराइएको आरोप लगाएकी छन्।
उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस्तो अवस्थामा सम्पन्न गरिएको यो निर्वाचन पूर्णतः असंवैधानिक छ। हामी यसको खारेजी र वर्तमान अन्तरिम नेतृत्वबाट राजीनामा माग गर्दछौँ।’
हसिनाले राजनीतिक बन्दी, शिक्षक, पत्रकार, बुद्धिजीवी तथा विभिन्न पेशाकर्मीहरूको अविलम्ब रिहाइ गर्न, उनीहरूमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिन तथा अवामी लिगमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि माग गरेकी छन्। साथै, निष्पक्ष कामचलाउ सरकारको मातहतमा स्वतन्त्र, निष्पक्ष र समावेशी निर्वाचनमार्फत जनताको मताधिकार पुनःस्थापना गर्नुपर्नेमा जोड दिएकी छन्।
मतदानमा जनसहभागिता अत्यन्त न्यून रहेको दाबी गर्दै उनले राजधानी ढाका सहित देशका विभिन्न स्थानका मतदान केन्द्रहरू खालीजस्तै रहेको बताइन्। निर्वाचन आयोगको प्रारम्भिक विवरण उद्धृत गर्दै उनले बिहान ११ बजेसम्म जम्मा १४.९६ प्रतिशत मात्र मतदान भएको उल्लेख गरिन्। उनका अनुसार मुख्य मतदान अवधिमै देखिएको न्यून सहभागिताले जनताले अवामी लिगविनाको चुनाव अस्वीकार गरेको स्पष्ट संकेत दिएको छ।
त्यसैगरी, उनले मतदानको अघिल्लो साँझदेखि नै केन्द्र कब्जा गर्ने प्रयास, गोली प्रहार, मत किन्न पैसाको प्रयोग, मतपत्रमा जबर्जस्ती छाप लगाउने र मतगणना प्रक्रियामा प्रतिनिधिहरूलाई दबाब दिने जस्ता गतिविधि भएको आरोप लगाइन्। पछिल्ला दिनहरूमा अवामी लिगका समर्थक तथा अल्पसंख्यक समुदायमाथि आक्रमण, पक्राउ र त्रास सिर्जना गरी मतदान केन्द्रसम्म लैजाने प्रयास भएको उनको दाबी छ।
उता, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता तारिक रहमान आगामी सरकार गठनका प्रमुख दाबेदारका रूपमा उभिएका छन्। पूर्वप्रधानमन्त्री खालिदा जिया का पुत्र रहमान १७ वर्षको लन्डन निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका थिए।
रहमानले लोकतान्त्रिक संस्थाहरूको पुनर्संरचना, विधिको शासन सुदृढीकरण तथा आर्थिक संकटबाट उकास्न ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया