पाल्पा । पाल्पामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीका अनुसार शनिबार दिउँसो करिब साढे २ बजे तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै गम्भीर चोट लागेको थियो।
मृत्यु हुनेमा गुल्मी पूर्तिघाट–४ निवासी ३१ वर्षीय मिलन सार्की रहेको प्रहरीले पुष्टि गरेको छ। मोटरसाइकलको पछाडि सवार अन्दाजी ३१ वर्षीया महिलाको समेत मृत्यु भएको छ। उनको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।
गम्भीर घाइते दुवैलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिएका छन्।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया