काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले साम्यवाद र समाजवादजस्ता परम्परागत राजनीतिक दर्शन विश्वस्तरमै कमजोर भइसकेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले विगतमा समाजवाद र साम्यवादका आधारमा विश्व र समाज विभाजित भए पनि अहिले धेरै देशहरू राष्ट्रको पहिचान, परम्परा र दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिने विचारतर्फ उन्मुख भइरहेको जिकिर गरे। उनका अनुसार देशको विकास र संरक्षणका लागि संवद्र्धनवाद उपयुक्त वैचारिक आधार भएकोले पार्टीले त्यसैलाई मार्गदर्शक सिद्धान्त बनाएको बताए।
लिङ्देनले अहिले विश्व राजनीतिमा आफ्नो राष्ट्र र आफ्नै परम्परालाई पहिलो स्थान दिने धारणा बलियो हुँदै गएको उल्लेख गरे। उनले परिवर्तन पनि निरन्तरता, स्थायित्व र आधार निर्माणसहित हुनुपर्ने बताए। बलियो आधार निर्माण नगरी परिवर्तन गर्न खोज्दा राष्ट्र र समाजलाई दीर्घकालीन क्षति पुग्ने उनको भनाइ थियो।
त्यस्तै उनले नेपालका गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिन हिच्किच्याउनु पर्ने कुनै कारण नरहेको धारणा पनि व्यक्त गरे।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया