काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा फैलिएको भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफ्नो पार्टीले नैतिकतामा आधारित राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले “बरु समाप्त हुन्छौँ, भ्रष्ट हुँदैनौँ” भन्ने अडानसहित जनतामाझ जाने उद्घोष गरे। उनका अनुसार राप्रपा पद र प्रतिष्ठाका लागि इमान र राष्ट्रको भविष्य साटासाट गर्ने राजनीति स्वीकार्दैन।
घोषणापत्रमा राप्रपाले भ्रष्टाचारलाई राष्ट्रघाती अपराधका रूपमा व्याख्या गर्दै त्यसको जरो उखेल्न संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरेको छ। पार्टीका तर्फबाट निर्वाचित हुने प्रतिनिधि वा पदाधिकारी भ्रष्टाचारमा संलग्न नहुने स्पष्ट प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
राप्रपाले २०४६ सालपछि लाभको पदमा रहेका उच्च पदस्थ राजनीतिक नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारेको छ। यसका लागि शक्तिशाली उच्चस्तरीय नागरिक आयोग गठन गरिने र अवैध ठहरिएका सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिने घोषणापत्रमा उल्लेख छ।
विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्न स्वार्थको द्वन्द्वसम्बन्धी कानुन ल्याउने तथा भ्रष्टाचारबारे सूचना दिने व्यक्तिलाई कानुनी संरक्षण प्रदान गर्ने ‘सूचक संरक्षण ऐन’ लागू गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
अध्यक्ष लिङ्देनले न्यायपालिकामा हुने राजनीतिक भागबण्डा र सेटिङ अन्त्य गर्न पुनर्संरचना र पुनर्नियुक्ति आवश्यक रहेको धारणा राखे। साथै, कर्मचारीतन्त्र र सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी व्यावसायिक बनाउने योजना रहेको उनले बताए।
राप्रपाले ‘सबैसँग मित्रता, हस्तक्षेप अस्वीकार्य’ भन्ने परराष्ट्र नीतिमार्फत राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने प्रतिबद्धता समेत जनाएको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया