काठमाडौं । जसपा नेपाल का अध्यक्ष उपेन्द्र यादव ले विगतमा सरकार सम्हालेका दलहरूको असफलताका कारण मुलुकमा अहिलेको परिस्थिति सिर्जना भएको आरोप लगाएका छन्।
काठमाडौं मा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै यादवले विगतमा सरकार सम्हालेर दुई तिहाइको दाबी गर्ने दलहरूको असफलता, अकर्मण्यता र अदूरदर्शिताका कारण देशमा अहिलेको अवस्था बनेको र २०८४ को निर्वाचन २०८२ मै गर्ने परिस्थिति आएको जिकिर गरे।
जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरू समाधान गर्दै चुनाव गराएको भए आगामी संसद अझ प्रभावकारी हुने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ। उनले चुनाव नजिकिँदै गएकाले मुलुक र जनताको समस्या समाधान हुने गरी सबै पक्ष अघि बढ्नुपर्नेमा जोड दिए।
यादवले मुलुकमा लोकतन्त्र जोगिए पनि संविधानअन्तर्गतको संघीय संरचना अझै मिल्न नसकेको बताए। उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गरेर मात्रै देशलाई सफल दिशातर्फ लैजान सकिने धारणा राखे।
निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन, स्वदेशमै रोजगारी सिर्जना, निःशुल्क स्वास्थ्य र शिक्षा, सम्पत्ति छानबिनलगायत विषयलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया