काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ र २ को सीमाक्षेत्र गजुलदहमा पर्ने सुनकोशी नदीबाट दिनदहाडै अवैध रूपमा बालुवा तस्करी भइरहेको जानकारी दिँदा प्रहरी प्रवक्ताले असाधारण व्यवहार देखाएका छन्।
ग्लोबल नागरिकका पत्रकारले अवैध बालुवा तस्करीको विषयमा जानकारी दिँदा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुर्य प्रकाश सुवेदीको गैरजिम्मेवारपुर्ण जवाफले बालुवा तस्करीमा प्रहरीको मिलेमतो भएको स्थानियको आरोपलाई पुष्टि गर्ने आधार तय भएको छ।
बालुवा तस्करीको विषयमा जानकारी दिँदा जानकारी दिने व्यक्तिलाई धन्यवाद दिनुको सट्टा उल्टै बालुवा तस्करीको विषयमा खण्डनगरी झोक्किएर फोन काट्नुले बालुवा तस्करीमा प्रहरीको मिलेमतो भएको थप आशंका बढाएको छ।
दैनिक लाखौं रुपैयाँ बराबरको बालुवा तस्करी भईरहेको स्थान र प्रहरी कार्यालय नेपालथोकको दुरी जम्मा एक किलोमीटर मात्र छ। त्यस्तो अवस्थामा दिनदहाडै बालुवा तस्करी हुनुले बालुवा तस्करीको साम्राज्य बनेको उक्त क्षेत्रमा प्रहरी प्रशासनको मौनता किन ? भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको छ।
स्थानीय बासिन्दाहरूले स्थानीय सरकार र प्रहरी प्रशासनकै मिलेमतोमा बालुवा तस्करी भइरहेको गम्भीर आरोप लगाएका छन्। “डोजर, टिफर र ट्रक दिनभरि चलेका छन्, तर प्रहरी प्रशासन, गाउँपालिका र वडास्तरबाट सबैले अनदेखा गरेका छन्,” एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए।
अवैध बालुवा तस्करीको विषयमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई जानकारी गराइएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठले तत्काल आवश्यक छानबिन गरी कार्वाही गर्ने बताएकी छन्।
जिल्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुर्य प्रकाश सुवेदीबाट चित्तबुझ्दो जवाफ नपाएपछि सम्पादकले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लाल ध्वज सुवेदीलाई सम्पर्कगरी बालुवा तस्करीको विषयमा जानकारी गराएका थिए। एसपी सुवेदीले ‘तत्काल प्रहरी पठाई बुझ्ने र छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने’ प्रतिबद्धता जनाएका छन्। तर नदिकिनारमा खुलेआम बालुवा तस्करी भने अहिलेसम्म रोकिएको छैन।
सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दाहालले भने यस विषयमा अनविज्ञता जाहेर गर्दै बालुवा तस्करी भएको पाइए कानुनअनुसार कारबाही गर्ने बताइन् । वडा नं. १ का वडाध्यक्ष रामकुमार श्रेष्ठले भने स्थानीय केही युवाको समूहले अनाधिकृत रूपमा नदीबाट बालुवा तस्करी गरिरहेको स्वीकार गरेका छन्।
बालुवा तस्करीको विषयमा स्थानिय सरकारले अनविज्ञता प्रकटगरी मौनता दर्शाउनुले बालुवा तस्करीमा स्थानिय सरकारका केहि व्यक्तिहरुको समेत संलग्नता भएको स्थानियको आरोपलाई थप पुष्टि गर्ने आधार समेत तय भएको छ।
यसअघि रोशी खोला र सुनकोशी नदीकै दोहनका कारण ठूलो बाढी र कटानले बस्ती र कृषि जमिन तहसनहस भएको इतिहास अझै ताजै छ। अहिले सोही रोशी खोलाको दोभान क्षेत्रमा पर्ने सुनकोशी नदीबाट पुनः उस्तै शैलीमा दोहन भइरहेको छ, जसले भविष्यमा ठूलो विपत्ति निम्त्याउने खतरा बढाएको विज्ञहरूले चेतावनी दिएका छन्।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया