काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग खेल्दैछ। नेपाली समय अनुसार खेल बिहान ११:१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा सुरु हुनेछ।

समूह ‘सी’ मा रहेको नेपाल अहिलेसम्म अंकविहीन छ, जबकि शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ। नेपाल पहिलो जितको खोजीमा मैदानमा उतर्नेछ भने वेस्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर आठमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

advertisement

नेपालले पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य चार रनले चुक्यो। २० ओभरमा नेपालले ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो। दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको इटालीसँग १० विकेटले पराजय भोगेको थियो। नेपालले बनाएको १२३ रन इटालीले बिना विकेट भेट्टायो। आजको खेलमा नेपाल सुधारिएको प्रदर्शन गर्दै पहिलो जितको खोजीमा हुनेछ।

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्नेछ। नेपालले पहिलोपटक सन् २०१४ को बंगलादेश विश्वकपमा सहभागिता जनाएको थियो। दोस्रो पटक विश्वकप खेल्न नेपालले १० वर्ष पर्खनुपर्‍यो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो उपस्थितिलाई सुदृढ बनाएको थियो। अघिल्लो विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो।

यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि पुग्न सक्न सकेको छैन। रोहितकुमार पौडेलको कप्तानीमा नेपाल निरन्तर विश्वकप खेल्दै आएको छ।

समूह ‘सी’ मा नेपालले इंग्ल्यान्डसँग खेल्दै विश्वकप सुरु गरेको थियो। समूहमा नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी र्याङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

नेपालको टोली:
कप्तान: रोहित पौडेल
उपकप्तान: दीपेन्द्रसिंह ऐरी
खेलाडीहरू: सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम।

समूह ‘सी’ मा वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा रहेको छ। नेपालले फागुन ५ गते स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com