काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन र पूजाआजा गर्न जाने भक्तजनका लागि विशेष रुट र पार्किङ व्यवस्था गरिएको छ। प्रहरीले दर्शनार्थीको सुरक्षा र यातायातलाई व्यवस्थित गर्न विशेष योजना तयार पारेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, दर्शनार्थीको भिडले गौशाला क्षेत्र हुँदै चक्रपथमा सवारी सञ्चालन गर्न कठिनाइ हुने भएकाले रुट निर्धारण गरिएको हो। पार्किङ व्यवस्था यसरी मिलाइएको छ:
- सिफल चौर – दर्शानार्थीको सवारी, पासधारी सवारी र सुरक्षाकर्मीका सवारी
- गुहेश्वरी पारी – तिर्थयात्री र दर्शानार्थीको सवारी
- पशुपति विकास कोष कार्यालय र भण्डारखाल – पासधारी सवारी
- तिलगंगा आँखा अस्पताल र करिडोर – तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी
- वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी
- प्रहरी वृत्त गौशाला – पासधारी र सरकारी सवारी
चाबहिल, गौशाला र तिलगंगामा सवारी सञ्चालनको व्यवस्था भए तापनि अत्यधिक भिडका कारण सवारी आवागमनमा समस्या हुने सम्भावना रहेकाले वैकल्पिक मार्गबाट डाईभर्सन गर्ने व्यवस्था गरिएको छ।
तीनकुने–सिनामङ्गल, बौद्ध एरिया–गौरीघाट, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क जाने सम्पूर्ण मालबाहक सवारी आवश्यकताअनुसार निषेध गरिएको छ। बागमती करिडोर र जोरपाटी हुँदै चाबहिल आउने सवारीलाई गुहेश्वरी पारी पार्किङ तोकिएको छ।
यदि गौशाला चोकमा अत्यधिक भिडले सवारी सञ्चालन असम्भव भए, भने चाबहिल–गौशाला, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर मैतिदेवी मोड–रातोपुल–गौशाला, र सिफल चौर–जय बागेश्वरी मार्गका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिने व्यवस्था छ।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया