काठमाडौं। नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले पर्वहरूले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) का अनुसार महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले धार्मिक तथा सांस्कृतिक पर्वहरूले नेपालको मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
उनले ‘महाशिवरात्रि’ हिन्दू धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने महत्वपूर्ण तथा पवित्र पर्व भएको बताए। साथै नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएकाले यस्ता पर्वहरूले अनेकतामा एकताको भावना सुदृढ गर्दै सबै नेपालीबीच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उल्लेख गरे।
महाशिवरात्रिको अवसरमा सभापति थापाले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया